उच्च रक्तचापः विश्वकै ठूलो स्वास्थ्य चुनौति

नेपालमा पनि प्रतिदिन बढ्दो क्रममा



Download our app to get more features

च्च रक्तचाप विश्वकै समस्या हो । औद्योगिकीकरण, सहरीकरण एवं सामाजिक, आर्थिक विकासले ल्याएको परिवर्तित जिवनशैलीका कारण बढ्दै गएको मोटोपना, औसतआयु र मानसिक तनावका कारण यो समस्या विकसित मुलुकका साथै नेपालमा पनि प्रतिदिन बढ्दो क्रममा छ ।

उच्च रक्तचापको लक्षण सुरुमै नदेखिनपनि सक्ने र ढिलो पहिचान हुने भएकोले पनि यो समस्या बढ्दो क्रममा रहेको छ ।

उच्च रक्तचापको समस्या ३० वर्ष नाघेपछि उमेर बढ्दै गएपछि क्रम शुरु हुने गर्दछ । ५० वर्षसम्मको उमेरमा महिलामा कम देखिने र त्यसपछि महिला र पुरुषमा बराबरी देखिने गरेको छ ।

विश्व परिवेश    
मुटु तथा रक्तनलीका विभिन्न रोगहरू मध्ये उच्च रक्तचाप संसारमा सबैभन्दा बढी देखिएको समस्या हो।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक अर्ब अर्थात् करीव १५ प्रतिशत जनसंख्या उच्च रक्तचापबाट पीडित छन् ।उच्च रक्तचापका कारण वार्षिक ७२ लाख मानिसको मृत्यु भइरहेको छ।

त्यस्तै सन् २०२५ सम्ममा प्रत्येक तिन जनामा एक जनालाई उच्च रक्तचाप हुने डरलाग्दो तथ्य सार्वजनिक भइसकेको छ । विकसित देशहरुमा ३० प्रतिशत मानिसलाई यो रोग लागेको थाहा छैन, १५ प्रतिशतले थाहा भएपनि उपचार गरेका छैनन्, २५ प्रतिशतले उपचार गरे पनि रक्तचाप नियन्त्रणमा छैन र ३० प्रतिशतले मात्र यसको सही उपचार लिइरहेका छन्।

हाल अमेरकिामा २० वर्षभन्दा बढी उमेरका ७ करोड ३० लाख व्यक्ति अर्थात् प्रत्येक तीनजनामा एक जनालाई उच्च रक्तचापको समस्या छ। त्यस्तै, युरोपमा उच्च रक्तचापका कारण वार्षिक ४३ लाख व्यक्तिको मृत्यु हुन्छ भने जर्मनी र स्पेनमा प्रत्येक दुई वयस्कमा एक जनालाई उच्च रक्तचापको समस्या छ।

बेलायतमा उच्च रक्तचापका कारण प्रतिवर्ष करिब २ लाख २७ हजार व्यक्तिलाई हृदयाघात हुने र त्यसमध्ये ३० प्रतिशतको मृत्यु हुने तथ्याकं छ । अस्ट्रेलियामा २५ वर्षभन्दा बढी उमेरका ३६ लाखभन्दा बढी व्यक्तिलाई उच्च रक्तचापको समस्या छ। त्यस्तै छिमेकी मुलुकचीनमा प्रत्येक चार जनामा एक जनालाई अर्थात् २० करोडलाई उच्च रक्तचापको समस्या रहेको तथ्याकं सार्वजनिक भएको छ ।

नेपालको परिवेश

नेपाल जस्तो अतिकम विकसित मुलुकमा उच्च रक्तचाप एक प्रमुख रोगको रुपमा देखा पर्दै गएको छ । पहिले पहिले ग्याष्ट्रिक नभएको नेपाली छैनन् भने जस्तै अहिले रक्तचापको समस्या नभएको नेपाली छैनन् भन्ने मान्यता बिस्तारै विकसित हुंदै गएको छ ।

पहिले पहिले उमेर ढल्केको मानिसलाई मात्र उच्चरक्तचापको समस्या छ भन्ने मान्यतालाई पनि समयक्रममा गलत बनाइदिएको छ । 

नेपालमा यस रोगको निदान एवं उपचारको तथ्यांक विकराल छ। काठमाडौंमा बिस २०३७ सालमा गरिएको एक अध्ययनले उच्च रक्तचापको समस्या ६ प्रतिशतमा देखिएको थियो (पाण्डे, सन् १९८१)। बिस २०६३मा भएको अर्को अध्ययन अनुसार १९.७प्रतिशतमा उच्च रक्तचाप भेटिएको थियो, तर तीमध्ये ४१ प्रतिशतलाई मात्रआफू रक्तचापको रोगीभएको कुरा थाहा भएको, ती थाहा भएकाहरूमध्ये पनि २६ प्रतिशतले मात्र उपचार गराइराखेका र केवल ६ प्रतिशतको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको पाइयो (शर्मा, सन् २००६)।

यस्तै भर्खरै एक कार्यालयमा गरिएको अध्ययन अनुसार नेपालमा ३३.८ प्रतिशत वयस्कलाई उच्च रक्तचापको समस्या छ। यी माथिका तथ्याकंहरुबाट के कुरा पुष्टि हुन्छ भने नेपालमा उच्च रक्तचाप बढ्दै गइरहेको, आधाभन्दा बढी मानिसलाई आफू उच्च रक्तचापको बिरामी हुँ भन्ने कुराको ज्ञान नभएको,थाहा भईकन पनि धेरै व्यक्तिमा उपचारको महत्वको बारेमा ज्ञान नभएको र उपचार गर्नमा हेलचेक्र्याइँ गरेको देखिन्छ। समयमानै यस रोगबारे सचेतना बढाइएन भने निकट भविष्यमा नै यसले ठूलो स्वास्थ्य सङ्कट निम्त्याउने निश्चित छ।

यस रोगबारे अज्ञानता र हेलचेक्र्याइँ हटाउन तथा उच्च रक्तचाप सम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष १७ मे अर्थात जेठ ४ गतेका दिन नेपालमा पनि विश्वउच्च रक्तचाप दिवस मनाइन्छ। यो दिवसको मुख्य उद्देश्य रोगबारे जनचेतना अभिवृद्धि गराई उच्च रक्तचाप रोकथाम, परीक्षण र उपचारका लागिअभिप्रेरित गर्नु तथा त्यसका कारण हुनसक्ने मस्तिष्का घात, पक्षाघात, हृदयाघात र मृगौलाको खराबीजस्ता रोगहरूको रोकथाम गर्नु रहेको छ ।



Last modified on 2016-09-23 07:28:23

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts